माण्डव्य गोत्रको उत्पत्ति, विकास एवं विस्तारमा पौराणिक एवं ऐतिहासिक (अवस्था) पृष्ठभूमि
करिब सातहजार वर्ष पूर्व अयोध्याका राजा दशस्थका समकालीन गुरू विश्वामित्र त्रषिका नाति तथा मण्डु क्रषिका छोराका रूपमा माण्डव्य ऋषिको जन्म भएको मानिन्छ। यी ऋषि वैज्ञानिक साँच र तार्किक क्षमता भएका, गोत्रशास्त्र एवं ज्योतिष शास्त्रका विज्ञ, विभिन्न विधाका ज्ञाता, ठूला पण्डित थिए भनिन्छ। उनको तपस्यास्थल हाम्रै नेपालको पाल्पा जिल्लाको तानसेनदेखि दक्षिण प्रवास नजिकै पर्ने देवगिरि पर्वत (थुम्को) मा रहेको र हाल पनि उक्त ठाउँमा उनको कुटी, मन्दिर एवं भग्नावशेषहरू देख्न सकिन्छ।
यिनै माण्डव्य ऋषिको तपस्थली रहेको कारण प्रवासको उक्त ठाउँलाई माण्डी, माणी हुँदै माँडी भन्न थालिएको हो भन्ने जनश्रुति रहेको छ। हालको मदन पोखरा क्षेत्र नै तत्कालीन माँडी फाँट भएको बुझिन्छ। त्यही देवगिरि पर्वतको कुटीमा तपस्यामा लीन रहेको अवस्थामा उनलाई अनाहकमा चोरीको आरोप लगाई यातना दिइएको हुँदा उनी उक्त ठाउँ छोडी भारततिर पलायन भए भन्ने पनि गरिन्छ।
माण्डव्य ऋषि भारतका विभिन्न तीर्थस्थलहरूको दर्शन गर्दै जाँदा हालको महाराष्ट्र प्रदेशको कान्यकुब्ज भन्ने ठाउँमा पुगी स्थायी बसोबास एवं गृहस्थी जीवन आरम्भ तथा वंश विस्तार भै जीवन व्यतीत गर्न थाले , उनको वंश विस्तार भै यत्र तत्र फैलिए। उनी विभिन्न विधाका ज्ञाता एवं ठूला पण्डित भएका र तत्कालीन समयमा पण्डितहरूलाई भट्ट भनिने चलन भए अनुसार उनले पनि भट्टपद धारण गरेका हुँदा त्यही भट्ट पदबाट उनको थर नै भट्ट रहन गयो। त्यही थरबाट वंश विस्तार भएको भन्ने कुराहरू वंश पुराण एवं वंशावलीहरूमा उल्लेख गरेको पाइन्छ।
उनको जीवनको सदियौं समय पश्चात् उनकै (वंशज गोत्रमा दण्डी भट्ट (अजयराज) नामका कुनै वंशज पन्जाव राज्यको जालन्धर क्षेत्रमा उदय भएका र उनी नै माण्डव्य गोत्रका प्रमाणित प्रथम पुर्खा हुन् भनी हेमन्त माण्डव्यले वृहत् माण्डव्य वंशावलीमा उल्लेख गरेका छन्। उनका अनुसार दण्डौ भट्टको समय वि.सं. को ८५-१५० बीचको अवधि हो र उनी (दण्डी भट्ट) उक्त क्षेत्रबाट पनि पूर्वीतिर लागेका थिए भनेका छन्।
त्यस जालन्धर क्षेत्र लगायत अन्य ठाउँहरूमा समेत दण्डी भट्टका सन्ततिहरू विस्तार हुँदै र फैलिँदै गएको बुझिन्छ। कालान्तरमा करिब आठौं-नवौं शताब्दीदेखि भारतमा मुगलहरूको प्रवेश भई हिन्दुहरूमाथि अमानवीय व्यवहार हुन थालेकोले दण्डी भट्टका वंशजहरू पनि क्रमश: उत्तर हिमालय क्षेत्रतर्फ बसाई सर्दै विस्तारै पूर्वतर्फ फैलिए भन्ने गरिन्छ। उक्त कुरा इतिहासकारहरूले पनि उल्लेख गरेको पाइन्छ।
यिनै दण्डी भट्टको वंशजमा सदियौं पुस्ता पछिका कुनै एक सन्तति अनन्तराज भट्ट वि.सं.को ८६२ तिर नेपाल प्रवेश गरी हाल कर्णाली प्रदेशको जुम्लाको सिंजा क्षेत्र (उपत्यका) मा आई स्थायी बसोबास एवं वंश विस्तार गरी यत्रतत्र फैलिए भन्ने गरिन्छ। उनी नै नेपालमा उदय भएका माण्डव्य गोत्रका प्रथम प्रमाणित पूर्वज (पुर्खा) मानिन्छन्। उनको समय वि.सं.को ८५० देखि ९०० सम्मको अवधि मान्न सकिन्छ (वृहत् मा. वंशावली)।
इतिहासका विभिन्न पुस्तक अध्ययन गर्दा भारतको हालको उत्तराखण्ड राज्य (गंगानदीपूर्व) का हरिद्वार, क्रषिकेश, गढवाल तथा कुमाउ र हालको नेपालको कर्णाली तथा सुदुर पश्चिम क्षेत्र हिन्दुहरूको सुरक्षित र आवासको निम्ति अनुकुल स्थान रहेको थियो। यी दुवै क्षेत्र एकीकृत विशाल खस साग्राज्य जस्तो भएकाले पनि भारतबाट प्रवेश गर्ने हिन्दूहरू यसै क्षेत्रमा आइ बसोबास गरेका र क्रमशः उनका शाखा सन्तान विस्तार हुँदै पूर्वतिर बढ्दै जाँदा हाम्रा पूर्वजहरू पनि सँगै आएको अनुमान गर्न सकिन्छ। दण्डी भट्ट र अनन्तराज भट्टको समय अवधि पनि करीब ७००-८०० वर्षको फरक परेको देखिन्छ ।
जुम्लाको सिंजा क्षेत्रमा उदय भएका अनन्तराज भट्ट त्यस क्षेत्रमा शक्तिशाली व्यक्ति बन्न पुगेका र उनका सन्तानको वंश वृद्धि भई अछाम लगायत अन्य क्षेत्रमा समेत आफूहरूको प्रभाव जमाउन सफल भए। क्रमश...
माण्डव्य गोत्रीय भण्डारीको संक्षिप्त वंशावली पुस्तकका लागि यहाँ क्लिक गर्नुहोस्।
0 Comments